नेपाली खण्ड


Web Search 
tistarangit.com

 

 

 HOME | ABOUT US | FEEDBACK | ABOUT SIKKIM | GOVT. ADVT.

सिक्किममा नेपाली साहित्यको गतिविधि
सानु लामा

नेपाली भाषा-साहित्यको विकास तथा यस सम्बन्धी गतिविधिलाई नियाल्दा, आसम, दार्जीलिङ तथा अन्य ठाउँहरूभन्दा सिक्किम कान्छो देखिन्छ।

सिक्किममा कतिपय साहित्यिक गतिविधिलाई कोट्याउँदै जहिले पनि हामी  अपतन साहित्य परिषद्-मा ठोकिनपुग्छौं। हुन पनि सिक्किममा नेपाली साहित्यको विकासको इतिहास अपतन साहित्य परिषद् (1947) देखि शुरू भएको पाउँछौ। प्रथमोप्रथम साङ्गठनिक रूपमा सिक्किममा नेपाली साहित्यमा ठोस योगदान पुऱ्याउने पनि यही संस्था हो।

सिक्किममा नेपाली साहित्यको गतिविधिको चर्चा गर्नभन्दा अघि सिक्किमको विषयमा केही तथ्यहरू अघि सार्न उपयुक्त होला। यी तथ्यहरूले सिक्किममा भएको अथवा भइरहेको नेपाली साहित्यिक गवितिधिहरूमा सिक्किमको भूमिकालाई सिद्ध गर्नेछन्।

सात हजार वर्ग किलोमिटर क्षेत्रफल भएको सिक्किम भारतको बाइसौं राज्य हो। सन् 1975-सम्म भारतको संरक्षणमा रहेको एउटा छुट्टै राष्ट्र थियो सिक्किम, जहाँ नामग्याल वंशी राजाहरूले सत्रौं शत्बादीको मध्यदेखि राजशासन चलाउँदै आएका थिए। तीनतिर तीनवटा छिमेकी राष्ट्रहरूसित सिक्किमको साझा सिमाना रहेको छ। पूर्वमा भूटान, पश्चिममा नेपाल अनि उत्तरमा तिब्बत(चीन) छ भने दक्षिणमा छिमेकी राज्य पश्चिम बङ्गालको दार्जीलिङ जिल्ला अवस्थित छ। सिक्किममा चारवटा जिल्ला (पूर्व-गान्तोक, पश्चिम- गेजिङ, उत्तर- मंगन औ दक्षिण- नाम्ची) अनि नौवटा महकुमा (गान्तोक, पाकिम, रंगेली, गेजिङ, सोरेङ, मंगन, चुङथाङ, नाम्ची औ राभाङला) छन्। एक सय छपन्नवटा तृणमूल स्तरका पञ्चायत अनि यसका पञ्चायती प्रणालीले राज्यको प्रशासनमा ठूलो टेवा पुऱ्याएको छ।

सिक्किमका वर्तमान वासिन्दाहरूमा लाप्चे, भोटे औ नेपाली यहाँका रैथाने हुन्। मदेश, जस्तै-राजस्थान, उत्तर प्रदेश, बिहार आदि राज्यहरूबाट आएका जातिहरू विशेषतः व्यापार-धन्धा गरेर बसेका छन्। भारत-गाङगेय समतल क्षेत्रादि जस्तैः बिहार, उत्तर प्रदेश, हरियाणा औ पश्चिम बङ्गाल अनि केरल, तामिलनाडू तथा आन्ध्र प्रदेशबाट पनि आएर शैक्षिक औ प्रशासनिक क्षेत्रमा काम गर्ने मानिसहरू यहाँ धेरै छन्।

सिक्किममा बसोबास गर्ने आदिजाति रोङ अथवा लेप्चा हुन्। यिनीहरू कसरी आएर सिक्किममा बसोबास गर्नथाले भन्ने विषयमा कुनै ऐतिहासिक आलेख नभए पनि यो जाति असमपट्टिबाट सिक्किम पसेको हो भन्ने विश्वास गरिएको छ। गोरो, मध्यम कद अनि मङ्गोलिया आकृति भएका लेप्चाहरू मूलतः लामापन्थी बौद्ध धर्मावालम्बी हुन्। तर धेरै लेप्चाहरू ईसाई धर्म ग्रहण गरेर आध्यात्मिक उन्नति गरिरहेका छन्। लेप्चाहरूको आफ्नै भाषा छ, जसको लिपि सिक्किमको तेस्रो राजा छोग्याल छाग्दोर नामग्यालको राजत्वकालमा (ईश्वी 1686-1716) आविष्कार भएको थियो। अहिले यस भाषामा लिखित पाठ्य पुस्तकहरू अनि सामाजिक तथा ऐतिहासिक जस्तावेजहरू, सीमित संख्यामा भए पनि छन्। साहित्य क्षेत्रमा पनि लेप्चाहरूको झुकाउ र परिश्रम सराहनीय छ।

सिक्किममा भोटे समुदायको बसोबास अनि नामग्याल वंशी राजाहरूको पुर्ख्यौली पहिल्याउँदै जाँदा तिब्बतको मि-न्याक घरानामा पुगिन्छ। सिक्किमका पहिलो राजा, छोग्याल पुन्सोग नामग्यालको सिंहासनारोहणको पन्ध्र दिनपछि तथा ईश्वी 1657 मा काल्जाङ लोदेन नामक एकजना तिब्बती विद्वानले मि-न्याक घरानाको राजकीय उत्पत्तिको संक्षिप्त इतिहास लेखेका थिए। यस अनुसार मि-न्याक वंशी राजाहरूका पुर्खा देउता मानिएका छन्। ती राजाहरूवे वर्तमान पूर्वी भारतको भू-खण्डमा पनि राज गरेका थिए। त्यहाँबाट उनीहरू कालान्तरमा तिब्बतको खाममा पुगेर राज गर्नथाले। यस वंशको पच्चिसौं पुस्ताका राजा अत्यन्त पराक्रमी थिए, जसले तिब्बतका साना-साना प्रदेशहरूलाई एकबद्ध गर्न मात्र होइन तर चीनको एउटा कुनै ठूलो भू-भागलाई आफ्नो राज्यमा गाभेका थिए। यिनै राजाका पछि आउऩए उत्तराधिकारीमध्ये एकजना राजकुमार खेबुम्सा थिए। तिनले तिब्बतको खाम, शाक्य औ छुम्बीमा बसेर शासन चलाएका थिए। खेबुम्साका आफ्ना छोरा-छोरी थिएनन्। त्यस समय सिक्किममा लाप्चेहरूका कुलपिता थेकोङतेक राजा थिए। अपुत्रलाई सन्तान दिनसक्ने दैवी शक्ति थेकोङतेककोमा छ भन्ने सुन्दा खेबुम्सा सिक्किममा आए अनि थेकोङतेकको आशीर्वाद लिएर तिब्बत फर्के। छुम्बीमा फर्केर आएको वर्ष दिनपछि रानी जोमोबाट एउटा पुत्रको जन्म भयो। त्यसपछि खेबुम्साका अरू दुइ पुत्रहरूको जन्म भयो। सन्तान प्राप्त भएको खुशीमा खेबुम्सा आफ्ना भाइ-भारदार अनि ठूलो संख्यामा तिब्बती रैतीहरूलाई साथमा लिएर थोकोङतेकलाई आफ्नो आभार प्रकट गर्न दोस्रोपल्ट सिक्किममा आए। यसपल्ट खेबुम्सा र थेकोङतेकको भेट उत्तर सिक्किमको काबी-लुङचोकमा भयो। त्यहीं तेह्रौं शताब्दीको अन्त्यतिर तिब्बती भोटिया अनि सिक्किमेली लाप्चेमाझ मित्रताको सम्झौता भयो, दुइ समुदायबीच सुदृड़ भ्रातृपबन्धन कायम राख्ने वाचा-बन्धन भयो।

खेबुम्साको साथमा आएका धेरैजस्ता तिब्बती भोटियाहरू फर्केर तिब्बत गएनन्। सिक्किममा नै बसोबासो गरे। थेकोङतेकको मृत्युपछि भनेजस्तो नेतृत्व नपाउँदा लाप्चे समुदाय निराश्रय भए। स्वाभावले नै बाठा प्रवृति भएका तिब्बती भोटियाहरूको प्रभावमा बिस्तार-बिस्तार लाप्चेहरू पर्नथाले। खेबुम्साका नाति टाशी छुम्बीबाट आएर गान्तोकमा बस्न थालेपछि साना-साना समुदायमा विभाजित भइसकेका निःसहाय लाप्चेहरू नेतृत्व तथा सुरक्षाको लागि तिनको शरणमा गए। यसबाट सिक्किममा नामग्याल वंशी शासन पद्धति गुरू टाशी नामग्यालको पालादेखि नै (चौथो शताब्दी) शुरू भएको हो भन्ने प्रमाण मिल्छ। लाप्चे-भोटेलाई नेतृत्व दिएर गुरू टाशीले शासन चलाए पनि सिक्किममा नामग्याल घरानाको यथाविधि राजशासन छोग्याल फून्सोग नामग्यालको राज्यभिषेक (ईश्वी 1642) देखि शुरू भयो।

सिक्किमेली भोटियाको आफ्नै भाषा र लिपि (साम्बोटा लिपि) छ। लामावाद बौद्ध धर्मका सबै ग्रन्थहरू यहबी लिपिमा लेखिएका छन्। विश्वविद्यालयसम्मका पाठ्य-पुस्तकहरू छन् यस भाषामा तर भनेजस्तो साहित्य तथा साहित्यिक गतिविधि भने छैनन्। यस दिशातर्फ भोटिया समुदाय प्रयत्नशील रहेको पनि देखिँदैन।

सन् 1942-मा पश्चिम सिक्किमको योक्सममा नामग्याल वंशका प्रथम राजा फुन्सोग नामग्यालको राज्यभिषेक भएको थियो। त्यस समय सिक्किमलायी डेञ्जोङ अथवा (धानको देश) भनिन्थ्यो। फुन्सोग नामग्यालपछि तिनको छोरो तेन्सुङ नामग्याल (1644-1700) सिक्किमका राजा भए। तिनका तीनजना रानीहरू थिए। कान्छी रानी योयोहाङ्ग अरूण नदीदेखि पश्चिमी इलाकाका लिम्बू राजाकी छोरी थिइन्। त्यसताक डेञ्जोङका लेप्चा, भोटे औ वर्तमान पूर्वी नेपालका लिम्बूहरूको माझमा बेरोकटोक आउनु-जानु थियो। नव दुलही रानीले दरबारमा प्रवेश गर्दा आश्चर्यमिश्रित स्वरमा आफ्नो भाषामा सु हीम अर्थात नयाँ घर भनेकी थिइन्। समय वित्दै जाँदा यो शब्द अपभ्रंश भएर सुखिम (भोटे भाषामा खीम को अर्थ घर हुन्छ) भयो अनि ब्रिटिश शासनकालमा यो नाम अङ्ग्रेजीकरण परेर सिक्किम हुनगयो। रानी योयोहाङ्गबाट एक पुत्र शाल्नो गुरू अनि एउटी पुत्री पेन्दी छिरीङ्ग ग्येनुको जन्म भयो। बिहे गरेर आउँदा रानीसित सातजना लिम्बुनी कन्याहरू पनि आएका थिए। ती सातै कन्याहरूको बिहे सिक्किमका विशिष्ट खानदानमा भएको थियो।

माथि उल्लेखित सिक्किमभित्र लिम्बूहरूको बेरोकटोक आउ-जाऊबाहेक सिक्किममा नेपालीहरूको बसोबास सन् 1788 को छेउछाउदेखि भएको देखिन्छ। ब्रिटिशले तिब्बतमा आफ्नो व्यापार खोल्ने उद्देश्यले सिक्किम राजासित सन्् 1861 को सन्धि गऱ्यो। भोटे लाप्चेको व्यापार खेल्ने उद्देश्यले सिक्किम राजासित सन् 1961 को सन्धि गऱ्यो। भोटे लाप्चेको संख्या त्यसबेला थोरै भएकोले सिक्किममा मजदूरको समस्या पऱ्यो अंग्रेजलाई। तर त्यो सन्धिको आड़मा अंग्रेजहरूले नेपालबाट मानिसहरू ल्याएर सिक्किमको खाली जमीन आबाद गराए। ती परिश्रमी नेपालीहरूले जंगल फाँड़े, खेतबारी तयार पारे अनि साँचो अर्थमा सिक्किममा कृषि प्रणाली शुरू गरे। भोटे-लाप्चे समुदायमा यस प्रकारको खेती गर्न पूर्णतया ज्ञान नभएको अनि केही सीमासम्म जाँगर पनि नभएकोले ती नवागन्तुक नेपाली कृषकहरूलाई धेरैले स्वागत गरे। तीमध्ये त्यस समयका राजाका सभासद् फोदङ लामा अनि खाङसा देवान थिए, जसले नेपालीहरूलाई सदाम, रम्फू अनि सिङ्चुथाङ (मङ्गले)-मा बसाले। यस्तै प्रकारले छिबु आदेन लामाले च्याखुङ, रेशी औ रामम् अनि लास्सो काजीले नाम्ची औ किताम आदि ठाउँहरूमा नेपालीहरू बसोबास गर्ने चाँजो मिलाइदिए। यसप्रकारले यी दूरदर्शी सभासद् काजी औ लामाहरूले सिक्किममा कृषि विकास साथसाथै आर्थिक विकासको क्रम शुरू गरिदिए। यस प्रकारले सिक्किममा नेपालीहरू रैथाने भएर बसेका दुइ सय वर्षभन्दा बढ्ता भएको छ।

सिक्किममा सन््् 1991 सालमा भएको जनगणनालाई पहिलो प्रमाणिक सूचना मानिलिइएको छ। यो जनगणनामा अनुसार 1891-मा सिक्किमको कूल जनसंख्या 30, 458 थियो, जसको फाँटवरी यसप्रकारको छः लेप्चा-5,762 (19 प्रतिशत), भोटे-4, 894 (16 प्रतिशत), लिम्बू-3, 356 (11 प्रतिशत) अनि नेपाली -16, 446 (54 प्रतिशत)। यसको एक सय वर्षपछि 1991 सालमा लिइएको जनगणना अनुसार सिक्किमको जनसंख्या 4,06, 457 थियो। त्यसमा भोटे-लेप्चाको 22.36 प्रतिशत अनि नेपालीको 77.64 प्रतिशत जनसंख्या भएको उल्लेख छ।

तीन सय तेत्तीस वर्षसम्म राजाको शासन चलेपछि बाह्रौं छोग्याल (धर्मराज) पाल्देन थोण्डुप नामग्यालको राजत्वकालमा 16 मई 1975 सालमा सिक्किम भारतको बाइसौं राज्य भएर भारतमा विलय भयो।

सिक्किममा नेपाली साहित्यको सही अर्थमा बीजारोपण सन्् 1947-मा अपतन साहित्य परिषद्-को स्थापनादेखि भएको हो र पनि अपतनकालको धेरै अघिदेखि नेपाली भाषाले यहाँ उचित मान्यता पाउँदै आएको हो। यो बड़ो ऐतिहासिक र तथ्यपूर्ण छ। सन् 1800-को शूरूतिर नै त्यतिबेलाका सिक्किमको सरकारी कामकाजमा नपाली भाषाको चलन भएको पाइन्छ। नेपाली भाषा त्यतिबेला सिक्किमको बोलचालको मात्र भाषा नभएर राजभाषा थियो, जसमा अहिलेसम्म परिवर्तन आएको छैन। त्यस समय सिक्किमको आफ्नै अर्थनीति थियो। सन् 1850- मा ढालिएको सिक्कामा श्रई श्री श्री सिक्किम सरकार, नेपाली भाषामा लेखिएको छ। खानीबाट ताँबा निकालेर सिक्का ढाल्ने काम टक्सारी चन्द्रबीर प्रधानले 1950-भन्दा धेरै अघि शुरू गरेका थिए। यसले त्यसताक पनि सिक्किमको राष्ट्रभाषा नेपाली थियो भन्ने प्रमाण दिन्छ। धेरै अघिदेखिको कुरो हो, सिक्किमका ग्राम पञ्चायत तथा जनासाधारणसित पत्राचार अथवा लेखापढ़ी गर्दा सम्बन्धित विभाग, जस्तै-भू राजस्व, ग्राम विकास, वन, कृषि, पशुपालन आदि अनि अन्य कतिपय सरकारी एकाईहरूले नेपाली भाषा प्रयोग गर्दै आएका छन्।

अपतनपूर्वका साहित्यिक गतिविधि खोज्दै जाँदा दक्षिण सिक्किमको सुम्बुकका श्यामदास राईको अद्वैत दर्शन पाउँछौं। सुम्बुकका शैलेश प्रधानको भनाई अनुसार यो पुस्तक सन् 1940- मा प्रकाशित भएको थियो। त्यसै गरी सन्् 1944 मा पश्चिम सिक्किम निवासी चन्द्रदास सापकोटाको ज्ञान विनोद श्लोकबद्ध पुस्तक प्रकाशमा आयो भने सन् 1946 मा टिम्बुरबुङ्ग निवासी मनोरथ दाहालको उद्देश्य भाषा श्लोक प्रकाशित भएको थियो। यो बाहेक बनारसबाट प्रकाशित उदय पत्रिकामा सन्् 1944 तिर सिक्किमका सन्तवीर लिम्बूका कविताहरू प्रकाशित भएका हुन्। लिम्बूले आफ्ना कविताहरू सिक्किम बाहिरका धेरै पत्रिकाहरूमा भताभुङ्गे थापा छद्म नाम दिएर पनि प्रकाशित गरे। तुलसीबहादुर छेत्री (पछि डाक्टर) ले पनि 1942 तिरै बनारसबाट प्रकाशित हुने पत्रिकामा आफ्नो प्रथम रचना मित्रता कविता छापिएको कुरा एउटा अन्तर्वार्तामा भनेका छन्।

साहित्यानुरागी-अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री औ निमा वाङ्दी तार्गेनहरूका नामको पहिलो अक्षर टिपेर अपतन साहित्य परिषद्-को स्थापना सन् 1947-को अप्रेल महीनामा सिक्किमको राजधानी गान्तोकमा भयो। त्यस समय सिक्किममा राजतन्त्र थियो अनि भारतमा स्वतन्त्रताको लागि क्रान्ति चरममा पुगेको थियो। यस्तो परिवेशमा नेपाली समुदायले संस्था खोलेर आफूलाई चिन्हित गराउन खोज्ने प्रयासलाई राजदरबार तथा अऩ्य समुदायले शंका गर्नु स्वाभाविक थियो। संस्था खोलियो तर समय अनुकूल नभएकोले प्रायः छ महीनासम्म परिषद् भित्रभित्रै लुकेर बस्यो। परिषद् गुप्तहरूमा रहे पनि यसका सदस्यहरूले रचेका रचनाहरू विभिन्न पत्रिकामा देखापर्न थाले। ती रचनाहरूमा रचनाकारको नाम नभएर अपतन गान्तोक मात्र लेखिएको हुन्थ्यो।

प्रतिकूल समय भएको भए पनि परिषद्लाई धेरै दिनसम्म लुकाइराख्न परिषद्का सदस्यहरूलाई समस्या परिरहेको थियो। त्यही बीचमा भारत स्वतन्त्र भयो। भारतमा भएको स्वतन्त्रता संग्रामको असर औ महात्मा गान्धीको सत्याग्रह अनि त्यागको सोझो प्रभाव परेको सिक्किमवासीमा पनि राजनैतिक चेतना स्फूरित हुनलागेको थियो। फलस्वरूप पूर्व सिक्किम गान्तोकमा सिक्किम स्टेट कंग्रेस, पश्चिम सिक्किम गेजिङमा प्रजा मण्डल औ दक्षिण सिक्किम नाम्चीमा सिक्किम प्रजा सम्मेलन- जस्ता राजनैतिक दलहरूले आफ्ना आफ्ना संस्थाहरूको स्थापना गरे। अपतन साहित्य परिषद्-का सदस्यहरूले पनि पनि त्यो उथल-पुथल औ लथालिङ्ग व्यवस्था भएको अवसर छोपी सितम्बर 1947 को एकदिन गान्तोक ठाकुरबाढ़ीको प्राङ्गणमा एउटा विशेष आमसभामा परिषद्लाई सार्वजनिक गरिदिए। रश्मिप्रसाद आलेको अध्यक्षतामा बसेको त्यस आमसभाले परिषद् संस्थापित गरिएको कुरा, यसका उद्देश्य औ नयमादि उपस्थित सबैवलाई बताइयो।

थोरै समयमा धेरैजना परिषद्का संरक्षक, आजीवन सदस्य औ सदस्य बने। तीमध्ये प्रमुख व्यक्तिहरू थिए- रामसाहेब हरिप्रसाद प्रधान, रश्मिप्रसाद आले, काशीराज प्रधान, रघुबीर बस्नेत, भीमूबहादुर राई, अटलसिंह देवान, चतुरसिंह राई, रनबहादुर राई, चन्द्रवीर राई, हर्कबहादुर बस्नेत, ख्यालिराम सिंगी, युनारायण प्रधान, आत्मराम, हर्कबहादुर प्रधान, लक्ष्मण छेत्री, चन्द्रमान रसाइली, सी.डी. राई, सन्तबीर लिम्बू, भूपाल लामिछाने, मनबहादुर सुब्बा, रामदत्तलाल ठाकुर, (राम अपतन) आदि। विद्यार्थी समुदायबाट पनि धेरैजना परिषद्का सदस्य बने। तीमध्ये पाइएका नामहरूको सूची यसप्रकारको छ। पदमबहादुर थापा, लक्ष्मीशोभा राई, लीला आले, भरत बस्नेत, देवकुमारी गुरूङ, शान्ति राई, मानबीर सुब्बा, नरमाया तामाङ आदि।

अपतन साहित्य परिषद्को प्रथम अधिवेशनपछि यसको साहित्यिक गतिविधि सुचारू रूपले चलेर गयो। परिषद्को साप्ताहिक गोष्ठि प्रत्येक शनिबारको दिन हुन्थ्यो। त्यस्ता गोष्ठीमा रचनाकारहरूले आ-आफ्नो कथा, कविता, निबन्ध, आदि पढेर सुनाउँथे। ती रचनाहरूमाथि टिप्पणी हुन्थ्यो, बहस चल्थ्यो। मासिक अधिवेशनमा घेरै संख्यामा सदस्य औ विद्यार्थीवर्गको उपस्थिति हुन्थ्यो। बेला-बेलामा साहित्यिक प्रतियोगिताको पनि आयोजन परिषद्ले गर्ने गर्थ्यो। वार्षिक अधिवेशन अझ बृहतरूपमा मनाउँथे। यस्ता वार्षिक अधिवेशनमा कथा, कविता, निबन्ध आदिका प्रतियोगिता र तर्कसभाबाहेक सांस्कृतिक कार्यक्रम पनि रहन्थ्यो।

अपतन साहित्य परिषद्-ले आफ्नो प्रतिनिधि कविता-संग्रह इन्द्रकील पुष्पाञ्जलि 1950- मा प्रकाशित गऱ्यो। यस संग्रहमा नौजना कविहरूका अड्तीसवटा कविता अनि पाँचवटा प्रहेलिका र यसका उत्तरहरू समावेश गरिएको छ। यी अड़तीसवटामा तुलसी (तुलसीबहादुर छेत्री) को 16 शिव, (शिवनाथ मिश्र) को 6, अगम (अगमसिंह तामाङ) को 3, मन (मनबहादुर सुब्बा) को 2 अनि पदम् (पदमसिंह सुब्बा), चन्द्र (चन्द्रबीर राई), राम (राम अपतन), भूपाल (भूपाल लामिछाने) औ सन्त (सन्तबीर लिम्बू)-को एक एकवटा गरेर जम्मा बत्तीस कविताहरू छन्। रहेका 6 वटामा दुइवटा अपतन नाम गरेर छापिएको छ अनि बाँकी चारवटालाई संयुक्त रूपमा अगम, पदम्, तुलसीले एउटा, शिव, तुलसी, पदमले एउटाः तुलसी, राम, पदमले एउटा अनि शिव, मनले एउटा लेखेका छन्।

इन्द्रकील पुष्पाञ्जलि सिक्किममा नेपाली साहित्यमा सर्वप्रथम योगदान पुऱ्याउने संस्थागत रूप-आकार भएको अपतन साहित्य परिषद्को कोसेली हो। यो एउटा साहित्यिक कृति मात्र नभएर सिक्किमेली फाँटमा नेपाली साहित्य क्षेत्रको ऐतिहासिक महत्व बोकेको माइलखुट्टी हो।

अपतन साहित्य परिषद्का मूल खाँबाहरूमा अगमसिंह तामाङको 1965-मा अल्पायुमा निधन भयो। तिनका फुटकर रचनाहरू त्यसताकका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। तामाङका भेटेजति रचनाहरू- कविता, गीत, बाल-गीतको सङ्कलन प्रेम थुलुङको सम्पादनमा 1996-मा प्रकाशित भएको छ। यो राम्रो कामको लागि प्रकाशक श्री डी.बी. राई अनि सम्पादक श्री प्रेम थुलुङ धन्यवादका पात्र बनेका छन्।

पदमसिंह सुब्बाका धेरै रचनाहरू पत्र-पत्रिकातिर छापिएका भए पनि पुस्तककाकारमा प्रकाशित भएको छैन। खुशीको कुरो, आज पनि वृद्ध सुब्बाज्यू साहित्यिक गतिविधिमा उत्तिकै चासो देखाउनुहुन्छ। नेपाली भाषा-साहित्यमा दीर्घकालीन सेवा पुऱ्याएबापत् उहाँलाई 1989-मा सिक्किमको भानु पुरस्कार-द्वारा सिक्किम साहित्य परिषद्ले (अहिलेको नेपाली साहित्य परिषद्ले) सम्मान गरेको हो।

इन्द्रकील पुष्पाञ्जलि-मा समावेश गरिएका कविताहरूबाहेक तुलसीबहादुर छेत्रीका अन्य धेरै रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। पुस्तकाकारमा बापू बन्दना (कविता संग्रह), कमल (नाटक), कर्ण-कुन्ती (खण्डकाव्य), बुद्धिबँगारो (मिनी खण्डकाव्य संग्रह) आदि प्रकाशित भएका हामी पाउँछौं। कर्ण-कुन्ती-को लागि छेत्रीलाई 1989-मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको हो।

निमा वाङ्दी तार्गेन(लेप्चा) परिषद्का एक कर्मठ कार्यकर्ता थिए। साहित्य क्षेत्रमा उस्तो देन नभए पनि सङ्गठनको क्रियाकलापमा यिनको अहम भूमिका हुने गर्थ्यो।

अपतन साहित्य परिषद् राजनीतिदेखि टाड़ा रहन सक्षम बनेको संस्था थियो। यो साम्प्रदायिक पनि थिएन। नेपाली, भोटिया औ लेप्चा तीनै भाषाको साहित्यलाई विकास औ संवर्द्धन गर्ने परिषद्को उद्देश्य थथियो।यस कुरोलाई परिषद्को सदस्यमा भोटे-लाप्चे धेरै संख्यामा भएकोले पुष्टि गर्छ। यसबाहेक हिन्दी औ मैथिलीभाषीहरू पनि परिषद्का सदस्य थिए। एउटा महत्वपूर्ण कुरा के छ भने श्री उदय छेत्रीले आफ्नो शोधपत्र नेपाली साहित्यको विकासमा सिक्किमका संघ-संस्थाहरूको योगदान-मा अपतन साहित्य परिषद्को औपचारिक रूपमा विधिवत्् विघटन नभएको र यसैले हालमा यो संस्था केवल निष्क्रिय रहेको बताएका छन्। यस तथ्यलाई डा. तुलसीबहादुर छेत्री, पदमसिंह सुब्बा औ रामदत्तलाल ठाकुरले आफ्ना नाउँको पछि अपतन उपनाम जोड़ने गरेकाले पुष्टि गर्छ।

यस प्रकारले अपतन साहित्य परिषद्ले प्रतिकूल समय औ परिवेशमा साङ्गठनिक रूपमा सिक्किममा नेपाली साहित्यको बिजारोपण गरेर त्यसलाई फल्ने-फूल्ने बनायो। यसको फलस्वरूप साहित्यको सेवा गर्नलाई अनेकौं लेखक-लेखिका, कवि-कवयत्री, नाटककार आदिको सिक्किममा जन्म भयो। यसबाहेक यस्ता धेरै साहित्यानुरागीहरू बाहिरबाट आएर सिक्किमलाई कर्मथलो बनाएर यतै बसोबास गरे।

अपतन साहित्य परिषद्पूर्व अनि परिषदकालमा साहित्यको क्षेत्रमा उत्रेका साहित्यकारहरूका केही नाम यस प्रकार छन्ः श्यामदास राई, चन्द्रदास सापकोटा, मनोरथ दाहाल, भवानीशङ्कर शर्मा, रश्मिप्रसाद आले, तुलसीबहादुर छेत्री, पदमसिंह सुब्बा, अगमसिंह तामाङ, शिवनाथ मिश्र, कृपाशल्यान राई, सन्तबीर लिम्बू, चन्द्रदास राई, भूपाल लामिछाने, राम अपतन,,मनबहादुर सुब्बा, सी.बी. राई, लाल देवसा, रत्नकमल देवान, काशीराज प्रधान, छत्र नरसिंह शाक्यवंश, नरेन्द्र नरसिंह आदि। यसपछि लगत्तै पंक्तिमा परेका केही नामहरूः-महानन्द पौड्याल, लक्ष्मीप्रसाद प्रधान, खड़कबहादुर प्रधान, जी.के. प्रधान, विष्णुप्रसाद आत्रेय, जयवीर सुब्बा, शैलीशचन्द्र प्रधान, तुलसी राम शर्मा (कश्यप), सानु लामा, समीरण छेत्री, उदयचन्द्र वशिष्ठ, गंगा कप्तान, शान्ति छेत्री, गिर्मी शेर्पा, जीवन थिङ, गीता शर्मा, नरबहादुर भण्डारी, केदार गुरूङ, सानुभाई शर्मा, पवन चामलिङ (किरण), शोभाकान्ति थेगिम, पूर्ण राई, सुवास दीपक, उपमान बस्नेत, टीकाभूषण दाहाल, जयनारायण शर्मा, उगेन भोटिया, बी.पी. दाहाल, सन्तोष राई, डी. तार्गेन, मिलनकुमार राई, शिवान्द दिलपाली, शैल मल्लिका, किरण रसाईली, कबीरमान राई, बेनसिंह राई, शोभाकुमारी प्रधान, कमल प्रधान, आर मोक्तान, तेजबहादुर नेसुर, सन्तोषकुमार राई, टी. ग्याछो, बुद्धिमाया सिंह, चन्द्रकला प्रधान, काजी गजमेर, रामप्रसाद शर्मा, कमला प्रधान, नरबहादुर तिवारी, हर्क वाकछाली राई, कमलप्रसाद अधिकारी, तिलक राई, सन्तोष बरदेवा, जीवन शेर्पा, कर्म छिरिङ भोटिया, दिलीप विरही, चुड़ामणि प्रधान, कर्ण बस्नेत, एम.एम. परियार, एल.पी. परियार, रघुनाथ सुवेदी, दिलू मास्के, चन्द्रकला सिञ्चुरी, मुक्ता आले, अर्जुन निरौला, सरला राई, लाजुम लेप्चा, पदमलाल शर्मा आदि।

उक्त साहित्यिक प्रतिभाहरूमध्ये कतिजना आजपर्यन्त सिर्जनात्मक लेखन कार्यमा लागिरहेका छन् भने कतिले कलम कलम थन्काएर राखेका छन् कति बितेर गए।

अपतन साहित्य परिषद्ले लगातार 6 वर्षसम्म काम गरेर सिक्किममा नेपाली साहित्यको विकास औ संवर्द्धनको लागि एउटा बलियो घड़ेरी तयार पारिदियो। तर अभाग्यवश संस्थाका संस्थापक सदस्यहरू सिक्किमबाट अन्यत्र गएपछि परिषद्ले शुरू गरेको साहित्यिक संस्थाका संस्थापक सदस्यहरू सिक्किमबाट अन्यत्र गएपछि परिषद्ले शुरू गरेको साहित्यिक गतिविधिको प्रक्रियामा शिथिलता आउऩथाल्यो। तुलसीबहादुर छेत्री दार्जीलिङको सरकारी महाविद्यालमा प्राध्यापक पदमा नियुक्ति पाएर गए। निमा वाङ्दी कालेबुङतिर लागे। अगमसिंह तामाङ गान्तोकदेखि सरूवा भएर नाम्ची पुगे, जहाँ अल्पायुमा नै तिनको  निधन भयो। गान्तोकमा खालि पदमसिंह सुब्बा रहे। यसप्रकारले अपतन साहित्य परिषद् निष्क्रिय हुनगयो तर यसले सिक्किमका साहित्यकार औ साहित्यानुरागीहरूलाई चालीस औ पचासको दशकमा दिएझैं प्रेरणा आज पनि दिइरहेको छ।

अपतन साहित्य परिषद् सन्् 1953-देखि यता निष्क्रिय हुँदै गएपछि सिक्किमको साहित्यिक गतिविधिको दीयोमा तेल थपिदिने काम सिक्किमभित्र साहित्यिक सङ्गठन होइऩ तर सिक्किमबाहिर, दार्जीलिङमा, स्थापित भएको अखिल सिक्किम छात्र सम्मेलन-(अखिल सिक्किम विद्यार्थी संगठन लेखिएको पनि पाइन्छ) गरिदिएको छ। भारतले स्वतन्त्रता प्राप्त गरेपछि देशका अन्य भागहरूमा झैं दार्जीलिङमा पनि राष्ट्रिय भावना सबैमा जागेको फलस्वरूप नेपाली भाषा-साहित्य, कला-संस्कृतिको दिशामा अभूतपूर्व काम हुनथाल्यो। अपतन साहित्य परिषद्ले झक्झकाइदिएको, सिक्किमबाट उच्च शिक्षाको लागि दार्जीलिङको महाविद्यालयमा पढ्न गएका सिक्किमे विद्यार्थीहरू त्यहाँको त्यस्तो साहित्यिक तथा देशप्रेमको वातावरणमा पर्न जाँदा उनीहरूले पनि त्यहाँ एउटा संस्था खोले-अखिल सिक्किम छात्र सम्मेलन। यो हो सन् 1956-57 को कुरा। संस्था स्थापित भएको अर्को वर्ष नै यसका शाखाहरू कलकत्ता, बर्द्धवान, वाराणसी औ गान्तोकमा खोलिए। मूल संस्था पनि यसका शाखाहरू बाहिर भए पनि यसको कर्मक्षेत्र सिक्किम भयो। अपतन साहित्य परिषद्पछि सांगठनिक रूपमा काम गर्ने यही छात्र संघ थियो।

विद्यार्थीहरूले मुख्यतः आफ्नै हितका निमित्त यो छात्र संघ खोलेका थिए। भए पनि यसको साहित्यिक अवदान अनि यसले विद्यार्थीहरूमा जगाएको सामाजिक-साहित्यिक चेतनालाई बिर्सन हुन्न। सम्मेलनले महानन्द पौड्यालको सम्पादनमा दुइ वर्षको अवधिमा दुइवटा वार्षिक पत्रिका प्रकाशित गऱ्यो। पहिलो वर्षको वार्षिक अंकलाई कुनै नाम नदिइ खाली सम्मेलनको बुलेटिन- भनेर निकाल्यो छात्र संघले। त्यसपछिको अर्को अंकलाई दि पोल स्टार नाम दिइएको थियो। बुलेटिन सम्पादक महनन्द पौड्याल भन्छन्- ... बुलेटिनलाई सम्मेलनको प्रचार पत्रका रूपमा सीमित नराखेर त्यसलाई यथाशक्य साहित्यिक साँचोमा ढाल्ने प्रयास गुरिएको थियो। अंग्रेजी, नेपाली र टिबटेनमा जातिसक्तो असल-असल सामग्री जुटाएर हामीले बुलेटुनलाई एउटा साहित्यिक पत्रिकाका रूपमा पाठकका सामु प्रस्तुत गऱ्यौं।

पोल स्टार-को दोस्रो अंग गीता शर्मा र गायत्री गुरूङको तत्परतामा 1958 मा प्रकाशित भएको थियो। यो सम्मेलनले त्रिवेणी पत्रिका पनि प्रकाशित गरेको थियो। यस सम्मेलनले यस प्राकरले विद्यार्थीहरूमाझ सभा, गोष्ठी, तर्क आदि गर्दै अनि साथसाथै साहित्यिक पत्रिका प्रकाशित गरेर सिक्किमेली साहित्यमा उचित योगदान पुऱ्याएको हो।

अखिल सिक्किम छात्र सम्मेलनले आफ्नो छोटो अवधिमा भरपर्दो काम गऱ्यो। यस संस्थासित संलग्न रहेर सामाजिक-साहित्यिक दिशामा काम गर्ने प्रमुख विद्यार्थीहरू हुनः ताराचन्द्र, पूर्णकुमार प्रधान, निडुप आटुक (दिवाङ्गत), महानन्द पौड्याल, सुलोचना प्रधान, रिपबम लेप्चा (दिवाङ्गत), रामनारायण शर्मा (दिवङ्गत), अमृता सिंह, बुद्धिमाया सिंह, गीता शर्मा, गायत्री गुरूङ आदि।

पोल स्टार-मा छापिएका केही रचनाहरूको संकलन पुस्तकाकारमा ध्रुव तारा नाम दिएर महानन्द पौड्यालको सम्पादनमा 1961-मा प्रकाशित भयो। यसमा खोजपूर्ण लेख, कथा, निबन्ध गरेर जम्मा एघारवटा रनचाहरू समावेश गरिएका छन्। अधिकांश विषय सिक्किमबारे खोजपूर्ण लेख, सिक्किमको ऐतिहासिक तथ्य अनि यहाँका सुन्दर स्थलहरूको वर्णन भएकोले यो पुस्तक सिक्किमेली परिप्रेक्ष्यमा महत्वपूर्ण भएको छ।

सिक्किममा साहित्यको गतिविधलाई अझ अघि बढ़ाउन सितम्बर 1957-देखि कञ्चनजङ्घा-को प्रकाशन शुरू भयो। पछि गएर राजनैतिक (सिक्किम स्टेट कंग्रेस) दलको मुखपत्र बने पनि यो समाचारप्रधान पत्रिकाले सिक्किमको साहित्यिक परिपाटीलाई सक्दो रूप दिन घेरै मात्रामा सहयोग पुऱ्याएकोछ।

शुरूमा मासिक रहेको कञ्चनजङ्घा अगस्त 1962-देखि पाक्षिक पत्रिकाको रूपमा निस्कनथाल्यो। बीचमा कति कारणले गर्दा पत्रिकाको प्रकाशन तीन वर्ष (1959-1962) रोकयो।। सन् 1962-को अन्त्यदेखि फेरि नियमित रूपमा प्रकाशित भएर सन् 1980-मा कञ्चनजङ्घा-को प्रकाशन बन्द भयो। यस पत्रिकाले आफ्नो प्रकाशन अवधिमा लगभग 583 वटा कविता, 47 वटा कथा अनि 198 वटा निबन्ध-लेखादि सिक्किमको साहित्यिक ढिकुटीलाई दियो।

कञ्चनजङ्घा-को वितरण औ पठन सिक्किम भित्र सीमित थिएन। भारतको पूर्वाञ्चल क्षेत्र, देहरादून, कलकत्ता औ बनारस अनि भूटान, नेपालसम्म नियमित रूपले पुग्थ्यो यो पत्रिका। त्यस हिसाबले हो बने त्यस समयमा कञ्चनजङ्घा को अन्तर्राष्ट्रिय रूप थियो। यस प्रकारले सिक्किममा भाषिक एवं साहित्यिक जागरण ल्याउन अनि यस क्रममा भाषा-साहित्यलाई अझ विकसित तुल्याउँदै लैजानमा कञ्चनजङ्घा-को भूमिका अत्यन्त महत्वपूर्ण औ अहम रहेको छ। यति मात्र होइन, सिक्किमे जनसाधारणमा सामाजिक, सांस्कृतिक, राजनीतिक औ शैक्षिक चेतनाबोध गराउन पनि कञ्चनजङ्घा सफल भएको हो।

आफ्नो प्रयासबारे काशीराज प्रधानको भनाई यस प्रकारको छ-  भाषाकै सेवाबाट प्रेरित भएर सिक्किमको सर्वप्रथम समाचार पत्रिकाको रूपमा पहिले मासिक र पछिबाट पाक्षिक समाचारपत्र साथै साहित्यिक पत्रिका कञ्चनजङ्घा प्रकाशमा ल्याई भाषा र समाजको सेवा गरेझैं लाग्छ। यो पत्रिकाले सिक्किम र बाहिरका नेपाली भाषाका लेखक र कविहरूलाई पनि सक्दो प्रेरणा दिएर भाषाको र समाजको सेवा गरेझैं लाग्छ। साथै दार्जीलिङ र सिक्किम सेरोफेरोबाट प्रकाशमा आएका पत्रिकाहरूमध्ये कञ्चनजङ्घा शायद सबैभन्दा दीर्घायु न भएकामा अपशोच लाग्छ...।

कतिपय प्रतिकूल समय औ समास्याहरूलाई झेल्दै र पन्साउँदै काशीराज प्रधानले आफ्नो जीवनभरि नै नेपाली भाषा औ साहित्यको विकास अनि संवर्द्धन कार्य गरिरहे। भाषा-साहित्य साथसाथै सिक्किममा शिक्षण क्षेत्रमा पनि प्रधानको सेवा औ योगदान सह्रनी गर्नयोग्यको छ।

सिक्किममा साहित्यिक गतिविधिको प्रकाशलाई उकास्न सफल भएको कञ्चनजङ्घा बारे गोपालप्रसाद दाहाल (प्रयासी) लेख्छन्॑..जसरी दार्जीलिङमा साहित्यिक पत्रकारिताका सम्वत् 2006 देखि 2014 सम्म 9 वर्षको उमेर धान्ने साहित्यिक पत्रिका भारती-ले निभाएको भूमिकासरह काठमाड़ौमा सम्वत् 1991-देखि सम्वत् 2018-सम् 28 वर्षको उमेर धानी शारदा-ले निभाएको पाइन्छ। यी दुवै पत्रिकाले आ-आफ्नो आञ्चलिक घेराभित्र नभएर सम्पूर्ण नेपाली साहित्यमा नै महत्वपूर्ण भूमिका निभाउन सफल भएका थिए। त्यसै गरी सिक्किमभित्रबाट पनि सन् 1947 को सितम्बर 15 देखि सन् 1970 को 15 अगस्तसम्म 13 वर्षको उमेर धान्ने काशीराज प्रधानको सम्पादनमा प्रकाशित कञ्चनजङ्घा को भूमिका महत्वपूर्ण देखिन्छ ।

कञ्चनजङ्घा॑ मा स्थापित लेखक-लेखिका मात्र होइन तर नवोदित प्रतिभाहरूका कृतिहरू पनि नियमित रूपमा प्रकाशित हुन्थे। यसमा प्रकाशित दार्जीलिङ भेक औ नेपालका प्रतिष्ठित साहित्यकारहरूका रचनाहरू ती नवोदित प्रतिभाहरूका निमित्त प्रेरणाका स्रोत बन्थे। तुलसी कश्यप, देवीप्रसाद कौशिक, रामदत्तलाल ठाकुर, गिर्मी शेर्पा, पवन चामलिङ-किरण, सुवास दीपक, शान्ति छेत्री, केदार गुरूङ, सन्तोष बरदेवा,शैलेश प्रधान, गंगा कप्तान आदि कञ्चनजङ्घा-ले सिक्किममा उब्जाएको साहित्यिक गतिविधिको प्रक्रियामा संलग्न रहेका नामहरू हुन्।

कञ्चनजङ्घा रहेन अब तर त्यसबाट प्रस्फूटित प्रेरणाका स्रोतले अहिले पनि सिक्किमका साहित्यकार तथा साहित्यानुरागीहरूलाई प्रोत्साहन प्रदान गर्न छाड़ेको छैन।

सन् 1963 सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाड़ौबाट एकदिन नेपाली साहित्यका वरिष्ठ कथाकार भवानी भिक्षु गान्तोक आइपुगे। देश विदेशमा भएका  नेपालीहरूमाझ समन्वय कायम राख्न तथा नेपाली भाषा-साहित्यको विकास, संवर्द्धन औ संरक्षणका लागि आवश्यक कदम चाल्नलाई ठाउँ-ठाउँमा संघ-संस्थाको स्थापना गरेर साहित्यकारहरूमाझ एक-अर्कासित सम्पर्क राखेर काम गर्ने प्रज्ञा प्रतिष्ठानको प्रस्तावलाई गान्तोकमा डाकिएको साहित्यकारहरूको एउटा बैठकमा भिक्षुले राखे। बैठकको अध्यक्षतामा रश्मिप्रसाग आलेले गरेका थिए। प्रज्ञा प्रतिष्ठानले त्यस्ता संस्थालाई पुस्तक, पत्र-पत्रिका आदि दिएर सधाउ पुऱ्याउने कुरो पनि भिक्षुले बताए। यस कार्यक्रमअन्तर्गत दार्जीलिङ (नेपाली साहित्य परिषद्) औ अन्य ठाउँमा यस्ता संस्था स्थापित भएको सूचना पनि तिनले दिए। बैठकलाई मन पऱ्यो त्यो प्रस्ताव र खोल्ने विचार गऱ्यो त्यो संस्था गान्तोकमा पनि। तर तत्कालीन राज शासनमा सिक्किममा यस्ता काम गर्नेहरूलाई फुकी-फुकी कदम चलाउनु पर्थ्यो। त्यसमाथि प्रस्तावित संस्थाको कति कुरोमा नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानसित सोझो सम्पर्क अनिवार्य हुनजानाले यसमाथि अझ विचार गर्न निर्णय लियो बैठकले।

भोलिपल्ट नै यस प्रस्तावबारे सरकारलाई अवगत गराउने गाम भयो। रश्मिप्रसाद आलेको अगुवाईमा एउटा शिष्ट मण्डलीले महाराजा सर टाशी नामग्याल औ युवराज पाल्देन थोण्डुप नामग्यालसित भेट गऱ्यो। शिष्ट मण्डलीमा भवानी भिक्षु पनि थिए। बड़ो सौहार्द्धपूर्ण वातावरणमा महाराजा औ युवराजसित कुराकानी भयो। संस्था खोल्ने प्रस्ताव सुनेर महाराजा औ युवराज दुवैले प्रसन्नता व्यक्त गरे। दरबारको आशीर्वाद लिएर फर्क्यो त्यो शिष्ट मण्डली।

केही दिनभित्रै गान्तोकमा रश्मिप्रसाद आलेको अध्यक्षतामा सिक्किम साहित्यकार सम्पर्क समिति- को गठन भयो। भिक्षु फर्के। पुस्तक, पत्र, पत्रिकाहरू पठाइदिए तिनले नेपालबाट। रश्मिप्रसाद आलेको प्रबुद्ध तथा कुशल नेतृत्व पाएर समिति छोटो अवधिमा नै लोकप्रिय बननगयो। समितिको दुइकोठे भाड़ाको घरमा प्रत्येक साँझ साहित्यकार अनि साहित्यानुरागी विद्यार्थीहरूको जमघट हुन्थ्यो। अपतन कालको पुगनपुग दश वर्षपछि गान्तोकको रमाइलो वातावरणमा यस प्रकारको साहित्यिक भेला फेरि शुरू भएको थियो।

सिक्किममा अपतन साहित्य परिषद् पछि संस्थाको रूपमा सिक्किम साहित्यकार सम्पर्क समिति-को गठन भएको थियो। यो समितिले दार्जीलिङ, असम, बनारस, देहरादून औ नेपालका विभिन्न साहित्यिक अनि सामाजिक संस्थाहरूसित सम्पर्क राखेर सल्लाह सुझाउ लिन्थ्यो-दिन्थ्यो। विशेषतः सिक्किममा भइरहेको साहित्यिक गतिविधिको प्रचार प्रसार गरेर बृहत नेपाली साहित्यको मानचित्रमा सिक्किमलाई चिन्हित गराउने प्रयास गऱ्यो समितिले अनि यस कार्यमा यो धेरै मात्रमा सफल पनि भयो। अपतन साहित्य परिषद्पछि साहित्यिक संस्थाको तिर्सनाले व्याकुल बनाएका गान्तोक औ यसका वरिपरिका साहित्यकार औ साहित्यानुरागीहरूका निमित्त सिक्किम साहित्यकार सम्पर्क समिति एउटा शीतल र मीठो पानी बग्ने सुन-धारा नै बन्यो। यो समितिले हस्याङ फस्याङ गरेर पुस्तक, पत्र-पत्रिका आदि छाप्ने छपाउने काम उस्तो गरेन, ठूला-ठूला गोष्ठी, सम्मेलन, प्रतियोगितात्मक कार्यक्रमहरू गर्ने-गराउने काम पनि गरेन। यसको आफ्नै दिग्दर्शन संहिता थियो, सिक्किम साहित्यकार सम्पर्क समिति त्यस बेलाको सफ्टवेयर थियो। यसबाट प्रभावित हुनेहरू बी.एस.राई, गंगा कप्तान, गिर्मी शेर्पा, राम अपतन, जयबीर सुब्बा, गीता शर्मा,, शान्ति छेत्री, सन्तोष बरदेवा, एस.के. राई, बेञ्जामिन राई.(राङ्का सर), नरबहादुर भण्डारी, छत्र तामाङ, बुद्धिमाया सिंह, मुक्ता आले, गायत्री गुरूङ, शैलेश प्रधान, लाल देवसा, जीत प्रधान, आर.एन. परियार, रघुनाथ सुवेदी, लक्ष्मी प्रधान, बुद्दि गुरूङ, सानु लामा आदि हुन्।

स्व. रश्मिप्रसाद आलेको परिपक्व साहित्यिक प्रतिभा अनि उनको प्रभावशाली उपस्थितिले समितिको गरिमा धेरै उचालिएको थियो। त्यसैताक दियालो॑ पत्रिकामा भएको तिनको विद्वतापूर्ण लेख छद्म भेषमा वरदान, लाई दियालो दूलीचन्द स्वर्ण पदक प्राप्त भयो। केही अस्वस्थ रहेका हुनाले उनी दार्जीलिङ जान सकेनन्। उतैबाट जगत छेत्री (पछि डाक्टर) औ सम्मेलनका अरूहरू गान्तोकमा आएर आलेलाई स्वर्ण पकद प्रदान गरे। समितिले आफू अलङ्कृत भएको अनुभव गऱ्यो।

सिक्किम साहित्यकार सम्पर्क समितिद्वारा अथवा यसको तत्वावधानमा प्रकाशित के सुनाखरी पत्रिकाका सीमित अंकहरूलाई श्रद्धापूर्वक हेर्ने र पढ्नेहरू आज पनि धेरैजना छन्। यस पत्रिकाको पहिलो अंक साइक्लोस्टाइल रूपमा प्रकाशित भएको थियो ईश्वी 1959-मा। समिति जन्मेको थिएन त्यस समय तर पछि घठित समितिमा रहेर काम गर्ने युवा साहित्यकार तथा साहित्यानुरागीहरूले नै, रश्मिप्रसाद आलेको कुशल अगुवाईमा, त्यो साइक्लोस्टाइल सुनाखरी निकालेका थिए।  तिब्बत मार्गस्थित आफ्नो घरको  बैठक कोठामा बसेर स्व. लक्ष्मीप्रसाद प्रधानले सुनाखरी-मा छापिने पाण्डुलिपिहरूको नेपाली टाइपराइटरमा स्टान्सिल काटेका थिए। त्यस समय सम्भवतः गान्तोकमा मात्र दुइवटा मात्र नेपाली (देवनागरी) टाइपराइटर थिए. एउटा लक्ष्मीबाबुको अनि अर्को सरकारको भू-राजस्व विभागको। हप्तादिन जस्तै लाग्यो लक्ष्मीबाबूलाई सम्पूर्ण स्टयान्सिल् काटिसक्न। अभाग्यवश त्यो साइक्लोस्टाइल सुनाखरी-को अहिले नाम निशान छैन, कसैकोमा कतै छन् कि यसका कपीहरू। सञ्चय गरी राखिइनुपर्ने हो त्यो इतिहास बनिसकेको सुनाखरी

सुनाखरी-को दोस्रो अंक साहित्यिक संकलन भनेर 1963-को अन्त्यतिर छापियो। त्यस वर्षको 149 औ भानु जयन्तीको लागि जम्मा रू. 1,069.62 दाताहरूबाट संग्रह गरिएको थियो। स्थानीय ठाकुरबाड़ीमा साहित्यिक औ सांस्कृतिक कार्यक्रमहरूसहित भव्यरूपमा आयोजन गरिएको जयन्तीमा जम्मा रू. 695 खर्च भयो। बाँकी रहेको पैसाले सुनाखरी प्रकाशित गर्ने निर्णय सर्वसम्मतिद्वारा गरिएको थियो।

उपर्युक्त निर्णयअनुरूप सुनाखरी-को साहित्यिक संकलन प्रकाशित भयो। सिक्किम साहित्यकार सम्पर्क समितिको लोकप्रियता औ यसको साहित्यिक क्रियाकलापको पुष्टि सुनाखरी-को यही अंकले गरेको छ। विशुद्ध साहित्यिक कृतिहरूको सिर्जना गर्न सुनाखरी मार्फत्् सिक्किम साहित्यकार सम्पर्क समिति पूर्णरूपेण सक्षम बन्यो। यस संकलनमा छाप्न इन्द्रबहादुर राई, अगमसिंह गिरी, वाणिरा गिरी, चन्द्रेश्वर दुबे, नरबहादुर दाहाल, सावित्री सुन्दासजस्ता सिक्किमबाहिरका वरिष्ठ साहित्यकारहरूले आफ्ना रचनाहरू पठाएर सिक्किमका त्यसताक भइरहेको साहित्यिक गवितिधिको सुचारूपनलाई प्रमाणित गरेका थिए। यो बाहेक सिक्किमबाट रश्मिप्रसाद आले, जयवीर सुब्बा, लाल देवसा, सी.डी. राई, छत्र नरसिंह शाक्य, शैल मल्लिका, विष्णुप्रसाद गौतम, बुद्धिमाया सिंह, विष्णु नवीन, सन्तोष राई, रामनारायण शर्मा, रूद्रप्रसाद शर्मा-दुःखी, बिरूवा, नरबहादुर भण्डारी, बी.एस. राई, कमला प्रधान, चन्द्रकला सिञ्चूरी, पहलमान सुब्बा, मनकुमारी प्रदान, रविन गुरूङ औ सानु लामाका कृतिहरू यस अंकमा समाहित छन्। आफ्नो खोजपूर्ण लेख सिक्किममा नेपाली साहित्यिक पत्रकारिताको विकास- मा श्रीमती पुष्प शर्मा लेख्नुहुन्छ..... कम अंक मात्र निकाल्न सके तापनि सुनाखरी-ले नेपाली विशुद्ध साहित्यको विभिन्न विधाहरूको विकासमा जे-जस्तो योगदान दिँदैरह्यो, त्यसैमा यसको सर्वोपरि महत्ता र साहित्यिक स्तरीयता देखा पर्छ। रश्मिप्रसाद आले र साथीहरू तथा लाल देवसा र साथीहरूको सम्पादनमा प्रकाशित भएको सुनाखरी-सँगै यी सम्पादकवर्ग पनि वन्दनीय छन्।

सुनाखरी-को अर्को र अन्तिम अंक 1967-मा प्रकाशित यो । कालान्तरमा समितिका पदाधिकारी अनि यसलाई मलजल गर्ने साहित्यकार औ साहित्यप्रेमीहरू आफ्ना-आफ्ना खाँचो औ पूर्तिको खिँचातानीमा जीवन धान्न यताउती लाग्नथाले। हामी गरीब, हाम्रो समाज गरीब, बिहान-बेलुकीको छाक टार्ने यो एउटै समस्या यदि नहुँदो हो त हामि निर्धक्क भएर नियमित रूपमा हाम्रो साहित्य-संस्कृतिको विकास औसंरक्षण संलग्न भइरहने थियौं होला। वृद्ध आले अब अघि झैं हिँड्डुल गर्न औ समितिको दैनन्दिनी कार्य हेर्न तथा यसलाई दिशा निर्देशन गर्ननसक्ने भए। यस्तो अवस्थामा सिक्किम साहित्यकार सम्पर्क समिति बिस्तारै ओझेल भएर गयो। तर आफ्नो छोटो अवधिमा समितिले सिक्किममा साहित्यिक गतिविधिलाई धेरै माथिसम्म पुऱ्यायो अनि साथसाथै स्थानीय युवक-युवतीमा आफ्नो भाषा-साहित्यप्रति हुनुपर्ने समर्पण भावको बीजारोपण गरिदिने काममा समिति सक्षम बन्नसक्यो।

स्थानीय युवा सम्प्रदायका केही जागरूक विद्यार्थीहरूले 1964 सालको चिसो जनवरी महीनाको एकदिन युवा पुस्तकालय, सिक्किम भनेर एउटा नयाँ संस्थाको स्थापना गरे। ती संस्थापक युवा सदस्यहरू थिए- सन्तोष बरदेवा, नरेन्द्र प्रधान अनि प्रयादचन्द मुन्दड़ा। लाल बजार झर्ने ओह्रालो बाटोको दायाँपट्टिको एउटा घरको दुइ कोठा बाड़ामा लिए उनीहरूले। त्यही दुइ कोठामध्ये एउटा कोठामा सानो पुस्तकालय र पिङपङ खेल्ने टेबल औ अर्कोमा अफिस साथै सभाकक्ष राखेर युवा पुस्तकालयले आफ्नो काम शुरू गऱ्यो। सिक्किम साहित्यकार सम्पर्क समितिपछि युवा पुस्तकालयले नै भानु जयन्ती गर्ने गर्थ्यो कोठाबाट पिङपङको टेबल हटाएर। प्रारम्भमा पुस्तकालयद्वारा स्थानीय विद्यार्थीवर्ग तथा अन्य इच्छुक व्यक्तिहरूमा पढ्ने बानी बसाउने उद्देश्य लिएर खड़ा भएको यस संस्थाले दुइ वर्ष पछि, 1966-को सितम्बरदेखि, आफ्नो कार्य क्षमतालाई बढ़ाउँदै नव ज्योति नामक त्रैमासिक पत्रिकाको प्रकाशन शुरू गरेर सिक्किमका साहित्यिक गतिविधिलाई वृद्धि गर्न कम्मर कस्यो। एक प्रकारले भन्नु हो भने सुनाखरी-ले वहन गरेको उत्तरदायित्वलाई नव ज्योति- ले शनैः शनैः आफ्नो काँधमा लियो। फेरि सिक्किममा रमाइलो साहित्यिक चहलपहल देखापर्न थाल्यो।

नव-ज्योति, ले विभिन्न विधाका कथा, कविता, लेखादि पाठकसमक्ष पुऱ्याएर अनेकौं नवोदित प्रतिभाहरूलाई प्रकाशमा ल्याउने काम गऱ्योः विशुद्ध साहित्य सिर्जनाको प्रक्रिया अझ क्रियाशील भएर गयो। युवा पुस्तकालयका कर्मठ कार्यकर्ताहरूको परिश्रम, निष्ठा औ सेवाभावनाले साना-ठूला सबैलाई प्रभावित पाऱ्यो। युगसापेक्ष विभिन्न विधाका रचनाहरू प्रकाशित गरेर नव-ज्योति-ले तत्कालीन सिक्किमेली समाजमा उत्कृष्ट साहित्यिक वातावरणको सिर्जना गर्नसक्यो। सिक्किममा भइरहेको साहित्यिक गतिविधिको राम्रो प्रकारले नव-ज्योति का अंकहरूमा उल्लेख भएको पाइन्छ।

युवा पुस्तकालय औ नव-ज्योति-मा मूलरूपले काम गर्नेहरू प्रायः सबै नै विद्यार्थी समुदायबाट थिए। एकापट्टि युवा पुस्तकालयले युवा पीढ़ीलाई सामाजिक औ साहित्यिक क्षेत्रमा काम गर्ने सक्दो उत्साह र प्रोत्साहन प्रदान गऱ्यो भने अर्कोतिर ती विद्यार्थीहरू यहाँको अध्ययन समाप्त गरेर उच्च शिक्षाका लागि सिक्किमदेखि बाहिर जाँदा त्यो संस्थामा शिथिलता आउऩथाल्यो। यति मात्र होइन, सिक्किमको लागि 1973 साल एउटा कुइनेटो बन्नगयो। सिक्किममा जन आन्दोलन चर्केर गयो। राजनैतिक खिँचातानी, कुटनीतिक चाल अनि असमान प्रतिस्पर्धा भइरहेको परिस्थितिमा युवा पुस्तकालय निष्क्रिय हुन स्वाभाविक थियो। तरै पनि यसले साहित्यमा चासो राख्ने नवोदित प्रतिभाहरूलाई प्रभावित पारिरह्यो, आजपर्यन्त परिरहेको छ। निष्क्रिय अवस्थामा भए पनि सानुभाई शर्माको सम्पादनमा नव-ज्योति को 14 औं अंक (वर्ष 9) 1975-मा प्रकाशित भयो। अघिल्ला अंकहरूको सम्पादन कार्यमा संलग्न रहनेहरू हुन् सी.डी. राई, जयबीर सुब्बा, कर्ण बस्नेत, सन्तोष बरदेवा, सुकुमार प्रधान, गिर्मी शेर्पा आदि।

नव-ज्योति-को 14औं अंकपछि युवा पुस्तकालय साँच्चै नै निष्क्रिय बन्यो। यसका पुस्तकहरूको अवस्था बिग्रेर जानथाल्यो। घरभाड़ासमेत बुझाउन नसक्दा पुस्तकहरू बोरामा हालेर एक कुनामा राखियो। पछि गएर सिक्किम साहित्य परिषद् (अहिले नाम बद्लेर नपाली साहित्य परिषद्)-ले युवा पुस्तकालयका सदस्यहरूलाई खोजेर उनीहरूबाट ती पुस्तकहरूको जिम्मा लिइयो। त्यत्रा पुस्तकहरूमा बीस प्रतिशत जस्तो मात्र लाग्ने भेटायो परिषद्ले। 1990 मा सिक्किम साहित्य परिषद्ले नै राधाकृष्ण शर्मा, पेम्पा तामाङ, चुनिलाल घिमिरे औ गोपाल गाउँलेको संयुक्त सम्पादनमा नव-ज्योति को 15औं अंक प्रकाशित गऱ्यो। यही नै नव-ज्योति को अन्तिम अंक भयो। सिक्किम साहित्य परिषद््को आफ्नो मुखपत्र कनका थियो, समय समयमा त्यसैलाई छाप्न थाल्यो परिषद्ले।

आफ्नो शोधपत्रमा उदय छेत्री लेख्छन्ः- नव ज्योति पत्रिकामा तत्कालीन सिक्किमेली मानसिकतालाई ध्यानमा लिएर विशुद्ध साहित्यिक रचनाहरू प्रकाशित गरिएको थियो। सिक्किमेली नेपाली साहित्यको गद्य-पद्य दुवै विधाको अभिवृद्धि मात्र नगरेर सिक्किमेली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा तुलनीय बनाउनका साथै विद्यार्थीदेखि लिएर बुद्धिजिवी वर्गसम्ममा विशुद्ध साहित्यिक वातावरण सिर्जना गर्नमा यस पत्रिकाको विशेष महत्व रहेको छ।

यस प्रकारले युवा पुस्तकालयले सिक्किममा साहित्यिक गतिविधिमा आफ्नो अमिट छाप छोड़ेर गएको छ।

सिक्किमबाहिरबाट सिक्किमभित्रको साहित्यिक गतिविधिलाई सघाउ पुऱ्याउने अर्को संस्था हो दिल्लीको नेपाली साहित्य प्रकाशन। आफ्नो दुइ वर्षको (1986-88) कार्यकालमा यस प्रकाशनले बिजुवा नेपाली डाइजेस्टको पाँच अंकसम्म प्रकाशित गऱ्यो। नयाँ दिल्लीमा नपाली साहित्य प्रकाशनको स्थाना गरेर बिजुवा जस्तो भरपर्दो साहित्यिक पत्रिका प्रकाशित गर्नमा धेरैको हात रहेको भए पनि रात-दिन खटेर संस्थाको उद्देश्यलाई पूरा गर्ने धेरजसो श्रेय शंकरदेव ढकाललाई दिँदा हुन्छ।

बिजुवाको प्रतम अंक (जुन-जुलाई 1986) मा सम्पादकद्वय शंकरदेव ढकाल अनि सुमनराज तिमसिना लेख्छन, .. .यसको प्रमुख उद्देश्य चाहिं हामी विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरूको संस्कृति, समाज एवं भाषामा एकरूपता ल्याउनु हो। यो हामी छरपस्ट नेपालीहरूमा अन्तर्सम्बन्ध स्थापित गर्ने यौंटा साधन हो... यो बिजुवा नेपाली साहित्यका लागि मात्र बसेको होइन तर यसको उद्देश्य हाम्रो समाजमा ज्ञानको लगातार बगिरहने गंगा जस्तै खोलो बगाउनु हो..।

पत्रिकामा विभिन्न विधा, जस्तैः कथा, कविता, लेख-समालोचनाबाहेक अध्यात्मदर्शन, अनुसन्धान, चिकित्सा विज्ञान, राजनीति चर्चा, बाल जगत, उखान संग्रह, स्थानीय समाचार आदि विषयहरू समावेश भएकाले बिजुवा सही अर्थमा नेपाली डाइजेस्ट थियो। अर्को अपूर्व कुरो को छ भने बिजुवा-को पाँच अंकमा तीन अंक विशेषाङ्कको रूपमा प्रकाशित भए। पहिलो विशेषांक अंक 1 वर्ष 2-को देवकोटा स्मृति विशेषांक थियो। दोस्रो अंक 2 वर्ष 2 को संस्कृति विशेषांक अनि तेस्रो 1988-को नेपाली वीर विशेषाङ्क

बिजुवा-ले सिक्किमका प्रतिभाशाली लेखक-कविका रचनाहरू छापेर सिक्किमको साहित्यिक गतिविधिको बाहिरफेरो प्रचार-प्रसार गरेको छ। सिक्किमबाट बिजुवा, मा आफ्ना रचना प्रदान गर्नेहरूमा प्रमुख छन्। घनश्याम नेपाल, तुलसीराम कश्यप, केदार गुरूङ, पवन चामलिङ किरण, उपमान बस्नेत, धन निर्दोष, सुब्बा, शंकरदेव ढकाल, शान्ति प्रधान, एकलब्य शर्मा आदि अनि सिक्किमदेखि बाहिरबाट सहयोद पुऱ्याउने बिद्वान साहित्यकारहरूमध्ये हुन्- पुष्पलाल उपाध्याय, बालकृष्ण पोखरेल, रामलाल अधिकारी, देवकुमारी थापा, आर.पी. लामा, डिल्लीराम तिमसिना, ईश्वर बराल, स्वामी प्रपन्नाचार्य, कमला सांकृत्यायन, गोपालप्रसाद दाहाल आदि।

आफ्ना घरदेखि टाढ़ा दिल्लीमा बसेर नोकरी गर्दै यसरी संस्था खोलेर आफ्नो भाष-साहित्यको सेवा गर्नु ठूलो कुरो हो। यस्ता स्तुत्य कार्य गर्नेहरू सधैं बन्दनीय भएर बाँच्दछन्। नेपाली भाषा-साहित्यको प्रगतिमा बिजुवा, ले पुऱ्याएको सहयोगालई कहिले भूल्नसकिन्न।

सिक्किमको साहित्यिक गतिविधिलाई चोखो साहित्यद्वारा मलजल गर्ने विशिष्ट स्थानमा रहेको अर्को संस्था हो- पश्चिम सिक्किम साहित्य प्रकाशन। जुलाई 1978 देखि स्रष्टा साहित्यिक पत्रिका प्रकाशनमा ल्याएर यस संस्थाले सिक्किमको साहित्यिक गतिविधिमा नियमितता र निरन्तरता दिँदै आइरहेको छ। मार्च-अप्रेल 2000-सम्म एक्काइस वर्षको अवधिमा प्रकाशनले स्रष्टा-को 47 औं अंक भारतीय नेपाली शहीद विशेषांक-को रूपमा प्रकाशित गरेको छ। यो बाहेक स्रष्टा-को 11औं अंक कविता विशेषांक-25औं अंक रजत जयन्ती अंक, 30औं अंक भारतीय नेपाली कथा विशेषांक औ 39 औं अंक वाङमय विशेषांक-को रूपमा प्रकाशित भइसकेको छ।

यत्तिका वर्षसम्म साहित्यिक गतिविधिलाई जिउँदो राखेर जमनामनसमा सचेतता ल्याउने अनि स्थापित तथा नवोदित साहित्यप्रेमीहरूलाई निरन्तर हौसला दिइरहने गुरूभारको वहन गर्ने सहयोगी मित्रहरू धेरै भए पनि पश्चिम सिक्किम साहित्य प्रकाशनका धुरी खाँबो केदार गुरूङ हुन्, जसको ऱ्यागऱ्याग्ती स्वाभाव साहित्यको सञ्चोसित बिसाउने ठाउँ बन्नगएको छ। स्रष्टा सिक्किमबाट हालमा प्रकाशित भइरहेको साहित्यिक पत्रिकाहरूमाझ सर्वोत्कृष्ट हुनगएको छ। यस पत्रिकाको संपादन औ प्रकाशन कार्यमा केदार गुरूङको अहम् भूमिका रहेको छ। यिनलाई सिक्किममा भाषा-साहित्यको दीर्घकालीन सेवा गरेबापत सिक्किम साहित्य परिषद्ले 1994-मा भानु पुरस्कारले सम्मानित गरेको हो। पश्चिम सिक्किम साहित्य प्रकाशनलाई हरतरहको सहयोग पुऱ्याएर स्रष्टा-को प्रकाशनमा संलग्न रहने केही महानुभावहरू हुन्- प्रेमलाल तिवारी, एल्डी राई मिक्खोले, छिरिङ पाञ्जो शेर्पा, दूधराज गुरूङ, गोबर्धन बास्तोला, प्रद्युम्न श्रेष्ठ, डा. एन.के. राई, लक्ष्मीप्रसाद गुरूङ, उपमान बस्नेत, ज्योतिमाला गुरूङ, भगीरथ शर्मा, डिल्लीराम चौहान, एल.एस. योञ्जन, दलमान मुखिया आदि। स्रष्टा-को सम्पादनमा केदार गुरूङलाई सहयोग पुऱ्याउने सह-सम्पादकहरू हुन्-के.बी. सुवेदी, बी.बी. ताम्लिङ, गोबर्द्धन बास्तोला, उपमान बस्नेत औ दलमान मुखिया।

साहित्यिक गतिविधि अन्तर्गत यस संस्थाले पत्रिका प्रकाशन मात्र नगरेर नियमित रूपमा भानु जयन्ती, बुद्ध जयन्ती, सरस्वती पूजा आदि गर्छन् भने साहित्यिक अनि सांस्कृतिक कार्यक्रम पनि गर्दै आइरहेको छ। साहित्यकारहरूलाई प्रोत्साहन प्रदान गर्न अनि साथसाथै उनीहरूको सृजनाशीलताको सम्मान गर्न स्रष्टा-को 18औं अंकदेखि कथा, कविता, निबन्ध अथवा समालोचना (तीनवटा विधामा) प्रकाशनले स्रष्टा पुरस्कार दिँदै आएको छ। यो विवेकपूर्ण पाइलाले स्र्ष्टाको स्तर बढ़ाउनु मात्र होइन तर सिक्किमको सम्पूर्ण साहित्यिक गतिविधिलाई प्रत्यक्ष रूपमा माथि उचालेको छ।

सिक्किम मात्र यस्तो राज्य हो, जहाँ सबैभन्दा धेरै संख्यामा आदिकवि भानुभक्त आचार्यका पूर्णाङ्ग अथवा अर्धाङ्ग शालिगहरू स्थापित गरिएका छन्। सिक्किममा आजसम्म तीनवटा पूर्णाङ्ग अनि पाँचवटा अर्धाङ्ग भानु शालिग छन्। यी सबै स्थानहरूमा हरेक वर्ष 13 जुलाईको दिन भानु जयन्ती ठूलो चाड़को रूपमा हर्षोल्लासको साथमा मनाइन्छ। भानु जयन्तीको कार्यक्रम सोझै नेपाली भाषा-साहित्य औ संस्कृतिसित जड़ित भएको हुन्छ सिक्किममा। यसको प्रमाण सिक्किममा भानु जयन्तीको समारोह ॑भारतीय नेपाली भाषा एकता दिवस, नेपाली भाषा संरक्षण दिवस , नेपाली भाषा एकरूपता आदि भनी मनाएको दिवसले दिन्छ।

सिक्किममा नेपाली साहित्यको विकास, संवर्द्धन र संरक्षणमा जुन स्तुत्य कार्य पश्चिम सिक्किम साहित्य प्रकाशनले गर्दै आइरहेको छ, त्यो भविष्यमा अझ बढ़ी ओजपूर्ण ढङ्गमा सम्पन्न भइरहनेछ भन्ने आशा साँच्न सकिन्छ।

युवा पुस्तकालय निष्क्रिय भएपछि, विशेषगरी गान्तोकमा, साहित्यिक गतिविधिमा केही समयसम्म एउटा रित्तोपन रह्यो। सिक्किमको जन आन्दोलन, भारतमा सिक्किमको विलय औ त्यसपछिको राजनैतिक खैलाबैलामा परेर साहित्यिक क्रियाकलापहरू अस्तव्यस्त अवस्थामा पुग्न गए। वातावरण केही सङ्गलिएर सुझबुझ बटुलबाटुल गर्दा गर्दै उन्नाइस सय अस्सीको दशक आइपुग्यो। भारतीय मलस्रोतमा परेपछि आफ्नो चिन्हारी हराउला, खोसिएला भन्ने डर सिक्किमे नेपालीहरूको मनमा उत्पन्न हुनु स्वाभाविक थियो। यस प्रकारका डरको निवारण आफनो भाषा-साहित्य औ संस्कृतिले मात्र गर्नसक्छ भन्ने सत्यलाई आत्मसात गरेर यसतर्फ सबैजना जागरूक भए। यस्तैमा गान्तोकमा आदिकवि भानुभक्तको पूर्णाङ्ग शालिग स्थापना गर्ने भानु शालिक निर्माण समिति- को गठन भयो। तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीबाट आँट र प्रोत्साहन पाउँदा यो समितिले द्रूतगतिमा काम अघि बढ़ायो औ 13 जुलाई 1981-को 167 औ भानु जयन्तीको उपलक्ष्यमा विश्वको सबभन्दा पिहलो भानुको पूर्णाङ्क शालिकगको अनावरण गर्न सक्षम बन्यो। नेपाली भाषा-साहित्यको कदर गर्दै यससित सम्बन्धित गतिविधिलाई अघाड़ि बढ़ाउने लक्ष्य राख्दै सिक्किमले विश्वका नेपालीहरूलाई भानुको पहिको पूर्णाङ्ग शालिग समर्पित गऱ्यो।

सन्् 1981 सालमा राज के. श्रेष्ठ, भूपेन्द्र अधिकारी, रोबर्ट राई, सुधीर घले (अछुत) र कृष्णकुमार राईले सल्लाह गरेर नेपाली सिहित्य सम्मेलन, सिक्किम नाम दिएर एउटा संस्था खोले। पञ्जीकरण भएपछि राज के. श्रेष्ठ. अध्यक्ष, सुधीर घले, महासचिव अनि कृष्णकुमार राई, कोषाध्यक्ष पदमा नियुक्त भए। संस्थागत साहित्यिक चहलपहल हराउँदै गएको समयमा सम्मेलनका जाँगरिला पदाधिकारी औ सदस्यहरूले यहाँको शुष्क परिवेशमा हरियाली भर्ने काम गरे। सम्मेलन पत्रिका, निकाले तीन अंकसम्म। बड़ो स्तरीय र विशुद्ध साहित्यिक समसामयिक संकलन थियो त्यो पत्रिका। आफ्नै भवन हुनुपर्छ सम्मेलनको भनेर सरकारसित विन्ती गरेर एक टुक्रा जमिन पनि लियो। यस प्रकारसित सम्मेलनले सिक्किमको साहित्यिक गतिविधिमा आफ्नो सहयोग पुऱ्याउन थाल्यो। यति गर्दा गर्दै समितिको तीन वर्षको कार्यकाल पूरा भयो। दोस्रो कार्यकारिणी समितिको गठन सानु लामाको अध्यक्षतामा सन्् 1985-मा भयो। यसको साथसाथै संस्थाको नाम विषय सदस्यहरूमाझ चर्चा भयो। धेरैदिनदेखि सिक्किमको सन्दर्भमा संस्थाको नाम उपयुक्त भएन, साहित्यिक गतिविधिले पर्याप्त खेल्ने ठाउँ पाएन भन्नेहरू पनि निस्के। त्यस्तै बेलामा दार्जीलिङबाट नेपाली साहित्य सम्मेलनले नाम एउटै भयो, मानिसहरू भ्रममा पर्लान्् भनेर सिक्किमको सम्मेलनको अर्कै नाम राखिदिने अनुरोध गऱ्यो। यी सबै कुरोलाई ध्यानमा राख्तै नेपाली साहित्य सम्मेलन, सिक्किम - साहित्य परिषद् सिक्किम भयो।

साहित्यिक गतिविधिको दिशामा सिक्किम साहित्यिक परिषद्ले नव-ज्योति-को 15 औं अंक प्रकाशित गऱ्यो। त्यसपछि आफनो मुखपत्र कनका-को प्रकाशन थाल्यो परिषद्ले। सरकारबाट मञ्जुर भएको जमिनलाई पैह्रोनीको डर हुँदा त्यसको साटोमा अर्को जमिन मिल्यो परिषद्लाई विकास क्षेत्रमा, जहाँ निर्मित भएर परिषद्् भवन अहिले खड़ा छ। सिक्किममा नेपाली भाषा-साहित्यमा दीर्घकालीन सेवा पुऱ्याउनेलाई सम्मान टक्राउन बर्सेनी दिइने भानु पुरस्कार-को स्थापना भयो। प्रत्येक भानु जयन्तीको उपलक्ष्यमा निकालिने बानु स्मारिका-को प्रकाशनको चलन अहिले पनि यतावत् चलिरहेको छ।

नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलनमा सिक्किम साहित्य परिषद्को अहम् भूमिका रहेको छ। तीन दशकभन्दा ज्यादा अवधि नाघिसकेको भाषाको अभियानलाई काँध लगाउन मई 1990-मा परिषद्ले अखिल भारतीय नपाली भाषा सम्मेलन सञ्चालन समिति-को गठन गऱ्यो। सिक्किमका तत्कालीन मुख्यम्नत्री नरबहादुर भण्डारीको अध्यक्षतामा गठित भएको यस समितिको मुख्य उद्देश्य सबै भारतीय स्तरमा भारतीय नेपालीहरूको एउटा सम्मेलन गराएर भाषा मान्यताबारे मतैक्य गराउनु थियो।

11 अनि 12 जून 1990 मा गान्तोकमा सर्व भारतीय स्तरको एक हजारभन्दा बढ्ता प्रतिनिधिहरूको दुइदिने सम्मेलन भयो। यसै सम्मेलनमा जन्मेको भारतीय नेपाली राष्ट्रिय परिषद्-ले श्री नरबहादुर भण्डारीको नेतृत्वमा, अभियानलाई पूर्णतय सफल बनायो। अगस्त,. 20, 1992 मा नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा अन्तर्भूक्त गरियो।

यस प्रकारसित सिक्किम साहित्य परिषद्ले 1981 सालदेखि सिक्किममा नेपाली भाषा-साहित्यको सेवा गर्दै आएको छ। हालैमा यस संस्थाको नाममा फेरि केही हेरफेर गरेर अहिले यो नेपाली साहित्य परिषद् सिक्किम भएको छ।

सिक्किमको साहित्यिक गतिविधिमा ठोस् सहयोग पुऱ्याउने अरू पनि धेरै संघ-संस्थाहरू छन्। तीमध्ये कतिका नाम लिन सकिन्छ, जस्तै- सिक्किम प्रतिभा प्रतिष्ठान (पाक्योङ), हिमाली लेखक मञ्च (गान्तोक), दक्षिण सिक्किम साहित्य सम्मेलन (नाम्ची), अखिल सिक्किम प्रतिभा संघ (गान्तोक), युवा साहित्य प्रतिष्ठान, सिक्किम (गान्तोक). डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति गुठी (गान्तोक), सिक्किम लेखक समिति (गेजिङ) आदि।

भाषा-साहित्यको क्षेत्रमा महत्वपूर्ण सहयोग पुऱयाएर सहयोग पुऱ्याएर यसको विकास, संवर्द्धन औ संरक्षणमा सहायता गर्न प्रकाशन संस्थाहरूको पनि ठूलो भूमिका रहेको हुन्छ। प्रकाशन संस्थाको सहोयगबिना साहित्यको गतिविधिमा धेरै अवरोधहरू खड़ा हुन्छन्। विगत बीस बाइस वर्षको अवधिभित्र सिक्किमका प्रकाशन संस्थाहरूले धेरै पुस्तकहरू छापेर एउटा कीर्तिमान नै बसालेका छन्। यस क्षेत्रमा प्रकाशन, नाम्ची, दक्षिण सिक्किमको नाम अग्रिम पंक्तिमा आउँछ। यस प्रकाशनले आजसम्म दुइ सयभन्दा बेसी पुस्तकहरू छापिसकेको छ, जसमध्ये पवन चामलिङ किरण का अन्तहीन सपनाः मेरो विपना, म को हूँ, प्रारम्भिक कविताहरू आदि, राजेन्द्र भण्डारीको यी शब्दहरूः यी हरफहरू, प्रेम थुलुङको संयोग मात्र होइन, प्रवीण राई जुमेलीको घाउका आवर्तहरू, केदार गुरूङको उर्लन्छन् छालहरू, डा.(श्रीमती) शान्ति छेत्रीको यूरोप भ्रमणः केही संस्मरण, समीरण छेत्री प्रियदर्शी को निर्वाणको रात, विजय बान्तवाको पत्रकारिताका पक्षहरू, सम्पूर्णा राईको नाभो, रामलाल अधिकारीको लिलाम छन् मेरा कविता, के.पी. मल्लको गाउँ घर छर छिमेक आदि उत्कृष्ट साहित्यिक कृतिहरू हुन्। यसबाहेक निर्माण प्रकाशनको अर्को महत्वपूर्ण कार्यक्रम हो- वरिष्ठ साहित्यकारहरूका कृतिहरूलाई बटुलेर ग्रन्थकारमा प्रकाशित गर्नु। यस योजनाअन्तर्गत निर्माण प्रकाशनले अगमसिंह गिरीका कृतिहरूलाई चार खण्डमा औ पारिजातका कृतिहरूलाई छ खण्डमा प्रकाशित गरिसकेको छ एवं क्रमले इन्द्रबहादुर राईका संकलित रचनाहरू पनि धेरै भागमा प्रकाशित गरिरहेको छ।

उत्कृष्ट साहित्यिक कृतिहरूको प्रकाशन गर्ने सिक्किमको अर्को संस्था हो- जनपक्ष प्रकाशन, जसले आजसम्म एक सयभन्दा बेसी पुस्तकहरू प्रकाशित गरिसकेको छ। यसमा परेका कृतिहरू हुन्- डा. डिल्लीराम तिमसिनाको भाषा र साहित्य, डा. तारानाथ शर्माको झझल्को, डा. घनश्याम नेपालका नेपाली साहित्य परिचयात्मक इतिहास, रूप र रेखाहरू,. निबन्ध नन्दन, कथा सागर, कविता सागर, आदि, इन्द्रबहादुर राईको अर्थहरूको पछिल्तिर, राजनारायण प्रधानका नेपाली सजिलो व्याकरण (भाग 1, 2 र 3), पन्ध्र प्रसिद्ध पुरुष आदि, शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण, राधाकृष्ण शर्माको भन्न नसकेका कुरा, चुनिलाल घिमिरेको पुत्काको मह, पुण्यप्रसाद शर्माद्वारा सम्पादित जनपक्ष विशेषांक (1 देखि 9 सम्म), पूर्ण राईको फूल झरेको पत्रदल, उदयचन्द्र वशिष्ठकोको सिक्किमका चाड़पर्व, राजेन्द्र भण्डारीको क्षर-अक्षर जस्ता अरू धेरै महत्वपूर्ण पुस्तकहरू छन्। प्रकाशकहरूबाट प्रकाशित भएका सबै पुस्तकहरूको सूची संक्षिप्त लेखमा समावेश गराउन सम्भव नहुँदा केही महत्वपूर्ण पुस्तकहरूमा उदाहरण स्वरूप प्रस्तुति गरिएका हुन्।

महानन्द पौड्यालद्वारा स्थापित आकाशदीप प्रकाशन-ले थोरै भए पनि (18 वटा शीर्षक) उत्कृष्ट र महत्वपूर्ण पुस्तकहरू प्रकाशित गरेको छ। तीमध्ये महानन्द पौड्यालका झुम्राको पुतली, छन्द र अलङ्कार, हाम्रा केही लोक कथा, टीकाभूषण दाहालको माखे साङ्लो, जिग्मी वाङ्चुकको सिउँदोको सिन्दुरले हत्या गऱ्यो आदि प्रमुख छन्।

प्रकाशन क्षेत्रमा आँकुरा प्रकाशन, गान्तोकको पनि सराहनीय योगदान छ। यस संस्थाले प्रकाशित गरेका केही पुस्तकहरू हुन्- तुलसीराम कश्यप का संसार यस्तै रहेछ, कला कमल, ऋतुराग, अर्जुन निरौलाको घाम डुबेपछि, मणिसिंह थापाको कविता कुञ्ज आदि।

यसबाहेक अन्य संस्थाहरू, जस्तै- गान्तोक प्रकाशन, नेपाली साहित्य परिषद्, सिक्किम, पश्चिम सिक्किम साहित्य प्रकाशन, डा. (श्रीमती) शोभाकान्ति थेगिम (लेप्चा) स्मृति गुठी, दक्षिण सिक्किम साहित्य सम्मेलन, सिक्किम लेखक समिति आदिले पनि समय-समयमा पुस्तकहरू प्रकाशित गर्दै आइरहेका छन्।

साहित्यिक गतिविधिलाई सही दिशामा डोऱ्याएर लैजान तथा भाषा-साहित्यको विकास, संवर्द्धन औ संरक्षण गर्न काममा पुरस्कार-सम्मान अभ्यर्थना आदिको पनि ठूलो र महत्वपूर्ण भूमिका रहेको हुन्छ। यस दिशामा सिक्किमको प्रयास सह्रानी गर्नयोग्यको छ। हालमा सिक्किमका दशवटा यस्ता पुरस्कारहरूको स्थापना भइसकेको छ। ती हुन् 1. अगमसिंह गिरी स्मृति पुरस्कार, 2. कृष्ण सुब्बा स्मृति पुरस्कार, 3. मित्रसेन थापा स्मृति पुरस्कार, 4. भानु पुरस्कार (सिक्किम), 5. आशारानी चामलिङ निर्माण पुरस्कार, 6. भानुरत्न पुरस्कार (कथा,कविता औ लेख-समालोचना गरेर पनि विधामा), 7. भानुरत्न पुरस्कार, 8. शिवकुमार राई स्मृति पुरस्कार, 9. कवि अगमसिंह तामाङ प्रतिभा पुरस्कार, 10. डा. (श्रीमती) शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार आदि।

उपरोक्त विभिन्न पुरस्कारद्वारा विभूषित हुने साहित्यकारहरूको नाम यसप्रकार छः

पुरस्कारको नाम पुरस्कृत साहित्यकार
1. अगमसिंह गिरी स्मृति पुरस्कार शिवकुमार राई, इन्द्रबहादुर राई, हरिप्रसाद गोर्खा राई।
2. कृष्ण सुब्बा स्मृति पुरस्कार विरेन्द्र सुब्बा, ल्हारिपा गान्देन लामा।
3. मित्रसेन थापा स्मृति पुरस्कार कप्तान रामसिंह ठकुरी, अरूणा लामा, हीरा वाइबा,. कर्म योञ्जन, सुश्री शान्ति ठटाल।
4. भानु पुरस्कार (सिक्किम)

काशीराज शर्मा कश्यप, कृपाशाल्यण राई, पदमसिंह सुब्बा अपतन, डा. लक्खीदेवी सुन्दास, सानु लामा, गिर्मी शेर्पा, डा. शान्ति छेत्री, केदार गुरूङ, डा. घनश्याम नेपाल, गंगा कप्तान, सानुभाई शर्मा, महानन्द पौड्याल, पूर्ण राई, गीता शर्मा।

5. आशारानी चामलिङ निर्माण पुरस्कार समीरण छेत्री प्रियदर्शी, इन्द्रबहादुर राई,  नरबहादुर दाहाल,  भीम दाहाल, टीबी राई
6. भानुरत्न पुरस्कार गंगा कप्तान, मोहन प्रधान नीरज, राधाकृष्ण शर्मा, रूद्र पौड्याल, सुवास दीपक, कृबु संयमी, कमला आँसु।
7. डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्रवीण राई जुमेली, उपमान बस्नेत, राजेन्द्र भण्डारी,  सानु लामा, चक्रपाणि भट्टराई, ध्रव लोहागण, प्रेम थुलुङ।

यस्तै प्रकारले स्रष्टा पुरस्कारद्वारा आजसम्म अड्चालिसजना सिक्किमभित्र र बाहिरका साहित्यकारहरू अलङ्कृत भइसकेका छन्। शिवकुमार राई स्मृति पुरस्कार-ले प्रेम थुलुङ, राजेन्द्र भण्डारी, रघुन्दन सापकोटा, गाती शर्मा विभूषित भइसेकका छन् भने कवि अगमसिंह तामाङ प्रतिभा पुरस्कार प्राप्त गर्नेहरू हुन्- धन निर्दोष सुब्बा, प्रेम मुखिया बैरागी, पासाङ शेर्पा औ विजयमणि थुलुङ।अर्कोतिर सिक्किमका धेरै साहित्यकारहरू आफ्ना कृति तथा सेवाका लागि सिक्किम बाहिरका पुरस्कारद्वारा सम्मानित भएका छन्। यस प्रकारका अलङ्करण, सम्मान आदिले पनि भाषा-साहित्यको विकासको प्रक्रियामा यहाँ धेरै सहयोग पुऱ्याएको छ। ती पुरस्कार र पुरस्कृत साहित्यकारहरू हुन्

क. साहित्य अकादमी पुरस्कार (दिल्ली), तुलसीराम कश्यप, गिर्मी शेर्पा, सानु लामा,  भीम दाहाल।
ख. जगदम्बाश्री पुरस्कार नेपाल नरबहादुर भण्डारी नेपाल,
ग. रत्नश्री पुरस्कार (नेपाल) जीवन थिङ, तुलसीराम कश्यप, डा. घनश्याम नेपाल।
घ. दियालो पुरस्कार (दार्जीलिङ)  डा.घनश्याम नेपाल, रघुनाथ सापकोटा, केदार गुरूङ, राजेन्द्र भण्डारी, च. सम्मेलन पुरस्कार (दार्जीलिङ), महानन्द पौड्याल।
ङ. अरूगि पुरस्कार (खरसाङ), पूर्ण राई।
छ. मदन स्मृति व्याख्यानमाला पुरस्कार (वाराणसी)- तुलसीराम कश्यप।
झ. भानु पुरस्कार (देहरादून)- डा. घनश्याम नेपाल।
ज. डा. बीएस विष्ट स्मृति पुरस्कार (दार्जीलिङ)- टीबीचन्द्र सुब्बा।
झ. साहित्य अकादेमी (अनुवाद) सुवास दीपक।
ञ. पद्मश्री सम्मान (भारत सरकार)- सानु लामा।

सिक्किममा यस प्रकारले नपाली भाषा-साहित्यको क्षेत्रमा विभिन्न कामहरू भइरहेको छ। यहाँ भइरहेको क्रियाकलापलाई नियाल्दा यहाँको साहित्यिक गतिविधि सही दिशातिर बढ़िरहेको छ भन्न सक्छौं हामी। यी सब गर्न सिक्किमलाई बाहिरबाट संस्थागत साथसाथै विक्तिगत अमूल्य सहयोग,परामर्श, दिशा-निर्देशन, आदि प्राप्त भएको हो अनि भविष्यमा पनि यो जारी रहनेछ भन्ने आशा गर्नसकिन्छ।

( सानु लामा नेपाली साहित्यका एक मूल स्तम्भ हुन्। यिनले भानु पुरस्कार, डा. शोभाकान्ति थेगिम स्मृति  पुरस्कार, साहित्य अकादमी पुरस्कार तथा पद्मश्री सम्मान प्राप्त गरिसकेका छन्। भारत सरकारको नागरिक सम्मान पद्मश्री म्मान प्राप्त गर्ने उनी प्रथम भारतीय नेपाली साहित्कार हुन्। यिनका दुइ कथा संग्रह, संस्मरण र उपन्यास प्रकाशित छन्। हाल सिक्किम अकादमीको ध्यक्षका रुपमा कार्यरत)

नोट - आवश्यक संशोधन सहित - टीस्टारङ्गीत 

 


free web hit counters image


Copy Right � 2007 tistarangit.com, All rights Reserved.
Best viewed in 1024 X 768 Resolution.

Powered by : jayanthsystems

This is an archived version of the website.

Sponsor Links:
Luxury Travel| Six Senses Travel| Six Senses Zighy Bay| Vietnam Travel| Morocco Travel| Park Hyatt | Peninsula| Automatic Label Applicator| 度身訂造 旅遊| 峴港 旅遊| 芽莊 旅遊| 北海道旅遊| 越南旅遊| 杜拜旅遊| 摩洛哥旅遊| 六善| klook| Travel 旅遊| 旅行| KUONI 勝景遊| 郵輪| peninsula| luxury| park hyatt| aman| silversea| luxury cruises| six senses| 峴港| 芽莊| abu dhabi| 摩洛哥旅遊| 北海道 旅遊| 杜拜 旅遊| vietnam travel| morocco travel| Spread | Email Marketing 電郵推廣 | tomtop | andoer | LEMFO | anet a8 | Roborock S50| xiaomi m365 | MXQ PRO | Bugs 5W | isteady pro | hubsan h501s x4 | Anet A6 | dobby drone